मन्त्री गीता चौधरीले सार्वजनिक गरिन् बाघको तथ्यांक, बाँकेमा बढ्दा बर्दियामा घट्यो
नेपालमा पाटेबाघको संख्या बढेको छ। पछिल्लो गणनाअनुसार ३५५ वटा रहेको पाटेबाघ २०८२ को सर्वेक्षणअनुसार ७४ वटा वृद्धि भएसँगै यसको संख्या ४२९ वटा पुगेको छ।
गत वर्ष पुषको पहिलो सातादेखि सुरु गरिएको बाघ गणनाको अन्तिम नतिजा २९ जुलाई अर्थात् विश्व बाघ दिवसका अवसरमा बुधबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको हो। जसअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाट वृद्धि भई १४५, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाट घटेर ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ४१ बाट वृद्धि भई ७१, बाँके राष्ट्रिय निकुञ्जमा २५ बाट वृद्धि भई ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाट वृद्धि भई बाघको संख्या ५० पुगेको विभागको तथ्यांक छ।
चितवनमा १७, पर्सामा ३०, बाँकेमा २६, शुक्लामा १४ वटा बाघ बढेको छ। बर्दियामा १३ वटा बाघ घटेको छ। पछिल्लो तथ्यांकअनुसार ३५५ वटा बाघ रहेको नेपालमा ७४ वटा बाघ बढेको छ। बाँके-बर्दिया कम्प्लेक्समा ६ वटा ब्लकमा बाघको तस्बीर लिने कार्य भएको छ। बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३, बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा २ र दाङ क्षेत्रमा एउटा ब्लकमा क्यामेरा राखिएको थियो।
बर्दियाको ३ वटा ब्लकका ४५५ ग्रिड, बाँके ब्लकमा ३४८ र दाङ ९८ गरी ९ सय १ ग्रिडमा प्रतिग्रिड २ वटा क्यामेराका दरले १८ सय २ वटा क्यामेरा बाघको तस्बिर लिन प्रयोग गरेका थिए। पछिल्लो तथ्यांक अनुसार चितवन १२८, बर्दिया १२५, पर्सा ४१, बाँके २५ र शुक्लाफाँटा ३६ गरी नेपालमा ३५५ वटा पाटेबाघ थिए। सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघको संख्या बढाउने प्रतिवद्धता अनुरुप नेपालले बाघ संरक्षणमा सफलता हासिल गर्दै गइरहेको वरिष्ठ संरक्षण अधिकृत कणेलले प्रष्ट्याए।
Facebook Comment