सर्वदलीय बैठकमा प्रधानमन्त्री नआएपछि गगनले भने- यस्तो बेलामा पनि ठालु भएर बस्ने हो ?
सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि नेपाली कांग्रेस सभापति गगन थापाले आपत्ति जनाएका छन्। बुधबार बिहान बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले अहिलेको अवस्थामा सबैलाई एकताबद्ध बनाउने प्रयास आवश्यक रहेको बताए। उनले सरकारलाई अप्ठ्यारोमा पार्ने कांग्रेसको उद्देश्य नभएको स्पष्ट गर्दै सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए।
‘यो बेला सबैलाई जोड्ने प्रयास गर्नुपर्छ। हामी सरकारलाई अप्ठ्यारोमा पार्न चाहँदैनौँ, सरकारसँग मिलेर काम गर्न चाहन्छौँ,’उनले भने,’तर, यस्तो अवस्थामा प्रधानमन्त्रीले भाउ खोजेर बस्ने,ठालु भएर बस्ने होइन। सबैलाई समेटेर अघि बढ्नुपर्छ।’
थापाले प्रधानमन्त्रीले राष्ट्रिय एकता कायम गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिए। ‘प्रधानमन्त्रीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुहोस् भन्ने हाम्रो चाहना छ,’उनले भने। उनले वर्तमान परिस्थितिमा धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दलले जिम्मेवार भूमिका खेल्नुपर्ने उल्लेख गरे। नेपाली कांग्रेसले पनि त्यसका लागि आफ्नो दायित्व पूरा गर्ने बताए। “यस्तो बेला धार्मिक सहिष्णुताका निम्ति हामी आफ्नो भूमिका निर्वाह गर्छौँ,’उनले भने।
उनले मुलुकमा समस्या आउँदा विगतमा दलका आ-आफ्नो विमति भएपनि प्रधानमन्त्री र दलसँगै बसेर छलफल गरेको स्मरण गरे।
सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङ उपस्थित भएनन्।
Facebook Comment