चुनावमा धक्का खाएका छौं, सकिएका छैनौं : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चुनावमा धक्का खाएको भए पनि नसकिएको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा धक्का आएको सत्य भएको बताउँदै भने, ‘हामी चुनावमा लडेका छौं, मरेका होइनौं ।’

उनले आफूहरु फेरि उठेर प्रतिक्रियावादीहरुसँग लड्ने, राजनीति गर्ने र त्यो कुनै लुकेको कुरा समेत नभएको बताएका छन् । उनले आफूहरु विध्वंशको बाटोबाट नभई रचनात्मक बाटोबाट, शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ अगाडि बढ्ने बताए । उनले पश्चगामी, प्रतिगामी षड्यन्त्रहरुलाई पराजित गर्दै, धक्काहरुलाई पराजित गर्दै फेरि धूलो टकटक्याउँदै उठ्ने समेत बताए ।

उनले देश विकास कसरी अगाडि बढेको थियो भन्ने कुरा प्यारामिटरमा हेरिनु पर्ने समेत बताएका छन् । अध्यक्ष ओलीले आफूहरुले कसरी विकास, पूर्वाधारका कामहरु गरेको थियो त्यो हेरिनु पर्ने बताए । अध्यक्ष ओलीले आफूहरुले गलत काम गरेर, देशद्रोही काम गरेर, जनताका विरुद्ध काम गरेर, विकासका काम गर्न नसकेर जनतामा असन्तुष्टि, युवामा असन्तुष्टि बढेको भन्ने कुरा समेत गलत भएको बताए ।

उनले झुटा प्रचार गरेर, आफूहरुले भ्रष्टाचार गरेको भनेर, अफवाह फैलाएर बदनाम गर्ने, चरित्र हत्या गर्ने कामबाट विस्थापित गर्ने काम गरिएको बताए । उनले कसैको पक्षपोषणमा बोल्यो भने त्यसका विरुद्धमा मनपरी बोलेर हतोत्साहित गर्ने अनि त्यसलाई अल्गोरिदमको स्थितिमा पुर्‍याउने, मोवाइलको माध्यमबाट चरम बदनाम गर्ने खालका क्रियाकलापहरु भएको बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *