चीनका युवाले किन चिनियाँ कम्युनिस्ट पार्टीमाथि विश्वास गुमाउँदैछन्?

चीनको आर्थिक चमत्कारलाई कुनै समय तीव्र आधुनिकीकरणको नमुनाका रूपमा प्रशंसा गरिन्थ्यो। यसले लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकाल्यो र प्रगतिको प्रतीकका रूपमा चम्किला गगनचुम्बी भवनहरू निर्माण गर्‍यो। तर यो चम्किलो आवरणमुनि गम्भीर वास्तविकता लुकेको छ, उच्च शिक्षा हासिल गरेका लाखौँ चिनियाँ युवा आफ्नै योग्यता र शिक्षाअनुसारको रोजगारी पाउन संघर्ष गरिरहेका छन्।

समृद्धिको वाचा गरेको चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले अर्थपूर्ण रोजगारीका अवसर सिर्जना गर्न नसकेको आरोप लागिरहेको छ। बरु गलत नीतिहरू, अनियन्त्रित स्वचालन र राजनीतिक निष्क्रियताका कारण एउटा पुस्ता निराश, अल्परोजगार र भविष्यप्रति आशाविहीन बन्दै गएको लेखमा उल्लेख छ।

चीनमा अहिले वार्षिक १ करोड १० लाखभन्दा बढी विश्वविद्यालय स्नातक उत्पादन हुन्छन्। तर रोजगारी बजारले ती सबैलाई समेट्न सकेको छैन। सन् २०२६ मा आधिकारिक तथ्याङ्कले युवाको बेरोजगारी दर २०.८ प्रतिशत देखाएको भए पनि स्वतन्त्र अनुमानहरूले वास्तविक दर २५ देखि ३० प्रतिशतसम्म हुन सक्ने बताएका छन्।

कुनै समय प्रतिष्ठित करियरको सुनिश्चित बाटो मानिने ‘९८५’ र ‘२११’ समूहका प्रतिष्ठित विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीहरू पनि अहिले न्यून तलबका सेवा क्षेत्रमा काम गर्न वा विभिन्न अस्थायी काममा प्रतिस्पर्धा गरिरहेका छन्।

शिक्षा र रोजगारीबीचको असन्तुलन स्पष्ट देखिन्छ। इन्जिनियरिङका स्नातक खाना पुर्‍याउने काम गरिरहेका छन्, कानुन पढेकाहरू कुरियरका रूपमा काम गरिरहेका छन् भने कम्प्युटर विज्ञानका विद्यार्थी अस्थायी खुद्रा पसलका काममा धकेलिएका छन्।

शिक्षालाई उद्योगको मागअनुसार ढाल्न नसक्दा चीनको भविष्यको श्रमशक्तिको आधार नै कमजोर बन्दै गएको लेखमा दाबी गरिएको छ। संरचनागत समस्यालाई सम्बोधन गर्नुको सट्टा सीसीपीले संकटलाई थप गहिरो बनाउने नीतिलाई निरन्तरता दिएको आरोप पनि लगाइएको छ।

सन् २०२५ मा सुरु गरिएको ‘एआई प्लस कार्ययोजना’ले सन् २०२७ सम्म प्रमुख उद्योगहरूमा ७० प्रतिशतसम्म कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रयोग पुर्‍याउने लक्ष्य राखेको छ। यसले कार्यक्षमता बढाए पनि रोजगारी कटौतीलाई तीव्र बनाइरहेको लेखमा उल्लेख छ।

प्रविधि कम्पनीहरूमा कुनै समय नयाँ आविष्कारका केन्द्र मानिने विभागहरू नै बन्द हुन थालेका छन्। कृत्रिम बुद्धिमत्ताका उपकरणले मानिसले गर्ने काम विस्थापित गर्न थालेपछि रोजगारी कटौती भइरहेको छ। पछिल्लो १८ महिनामा अलिबाबा, टेन्सेन्ट, बाइटडान्स, मितुआन र बैदुमा गरी १ लाख ३० हजारभन्दा बढी रोजगारी कटौती भएको दाबी लेखमा गरिएको छ।

सरकारले बेरोजगारीलाई ‘लचिलो रोजगारी’को नाम दिएको छ। यसअन्तर्गत स्नातकहरूलाई रोजगारीको सुरक्षा, सुविधा वा करियर विकासको स्पष्ट बाटो नभएका विभिन्न अस्थायी तथा सेवामूलक कामतर्फ धकेलिएको लेखमा आरोप छ। लेखकले यसलाई सुधार नभई प्रणालीगत असफलता लुकाउने ‘छद्म बेरोजगारी’को संज्ञा दिएका छन्।

चीनका करिब १ करोड ३० लाख डेलिभरी राइडरको अवस्था यो संकटको उदाहरण बनेको छ। सानियान लाइफ ल्याबले सार्वजनिक गरेको नयाँ वृत्तचित्र ‘२०२६ चाइना डेलिभरी राइडर सर्भाइभल रिपोर्ट’ले अझ विकसित हुँदै गएका एल्गोरिदमले श्रमिकहरूलाई लामो समय काम गर्न र कम आम्दानी स्वीकार गर्न बाध्य बनाएको देखाएको लेखमा उल्लेख छ।

प्रति अर्डर पाइने रकम १० युआनभन्दा बढीबाट घटेर अहिले ३ देखि ५ युआनसम्म पुगेको दाबी गरिएको छ। तीमध्ये धेरै राइडर विश्वविद्यालयबाट उत्तीर्ण भएका तर आफ्नो विषयअनुसारको रोजगारी पाउन नसकेका युवा रहेको बताइएको छ।

उनीहरू अहिले सडकमा तीव्र गतिमा सवारी चलाउँदै, एल्गोरिदमले तोकेको समयसीमाभित्र खाना पुर्‍याउने दबाबमा काम गरिरहेका छन्। यस क्रममा दुर्घटना र चोटपटकको जोखिम पनि बढिरहेको लेखमा उल्लेख छ।

एक राइडरको भनाइ उद्धृत गर्दै लेखमा भनिएको छ, ‘एल्गोरिदम जति स्मार्ट हुँदै जान्छन्, हामीचाहिँ किन बढी काम गरेर कम कमाइरहेका छौँ?’ कहिल्यै मानिसलाई स्वतन्त्र बनाउने प्रविधिका रूपमा प्रस्तुत गरिएको प्रविधि नै अहिले श्रमिकका लागि जाल बन्दै गएको र श्रमिक शोषणबाट नागरिकलाई जोगाउन सीसीपी असफल भएको लेखको निष्कर्ष छ।

यस अवस्थाको मनोवैज्ञानिक असर पनि गम्भीर रहेको लेखमा उल्लेख छ। युवा श्रमिकहरूले थकान, सामाजिक अलगाव र निराशाको अनुभव सुनाइरहेका छन्। सामाजिक सञ्जालमा ‘भविष्यका लागि कुनै योजना छैन’, ‘आधा जीवितजस्तो’, ‘हामीसँग बाँकी रहेको भनेकै हाम्रा खुट्टा हुन्’जस्ता निराशाजनक अभिव्यक्ति देखिन थालेका छन्।

बाइटडान्समा काम गर्ने ३५ वर्षीय एक कर्मचारीलाई जागिरबाट निकालिनुअघि आफ्ना परियोजना आफूभन्दा कम उमेरका प्रशिक्षार्थीलाई हस्तान्तरण गर्न बाध्य पारिएको उदाहरण लेखमा दिइएको छ।

त्यस्तै, ‘९८५’ विश्वविद्यालयबाट उत्तीर्ण एक महिला वर्षौँसम्म पूर्णकालीन आमाका रूपमा बसेपछि रोजगारी खोज्दा काम नपाएपछि अहिले घरघरमा खाना पुर्‍याउने काम गरिरहेको उदाहरण पनि उल्लेख गरिएको छ।

यी घटनाले महत्वाकांक्षा बिस्तारै जीविकोपार्जनको संघर्षमा परिणत भइरहेको समाजको चित्र प्रस्तुत गर्ने लेखको दाबी छ। सीसीपीले गरेको समृद्धिको वाचा पनि युवाका लागि खोक्रो बन्दै गएको लेखकको तर्क छ।

धेरै स्नातकले आफ्नो सीपअनुसारको प्रतिफल नपाउने प्रणालीमा शिक्षा नै अर्थहीन बन्दै गएको हो कि भन्ने प्रश्न गर्न थालेको लेखमा उल्लेख छ।

चीनका डेलिभरी राइडरहरू प्राविधिक प्रगति र मानवीय जोखिमबीचको टकरावको उदाहरण बनेका छन्। कार्यक्षमता बढाउन बनाइएका एल्गोरिदमले अहिले मार्ग, समयसीमा र पारिश्रमिक निर्धारण गर्न थालेका छन्। श्रमिकलाई उनीहरूको मानवीय पक्षभन्दा तथ्याङ्क र कार्यसम्पादनका सूचकांकका आधारमा मूल्याङ्कन गरिने अवस्था बनेको लेखमा उल्लेख छ।

डेलिभरी उद्योगको विस्तारले चीनको अर्थतन्त्रमा रहेको विरोधाभास पनि देखाउँछ—एकातिर तीव्र प्राविधिक आविष्कार र अर्कोतिर गहिरिँदो असमानता। लेखका अनुसार कार्यक्षमता र नियन्त्रणमा अत्यधिक जोड दिँदा यस्तो अवस्था बनेको छ, जहाँ उपभोक्ताको सुविधा श्रमिकको मानवीय मर्यादाको मूल्यमा प्राप्त भइरहेको छ र प्रतिभाशाली युवाहरू जीविकोपार्जनका सामान्य काममा सीमित भइरहेका छन्।

लेखले चीनको युवा संकटलाई अस्थायी समस्या नभई प्रणालीगत असफलताको परिणामका रूपमा चित्रण गरेको छ। सीसीपीले नागरिकको जीविकाभन्दा कार्यक्षमता र प्रचारलाई प्राथमिकता दिएको आरोप लगाउँदै लेखकले लाखौँ शिक्षित नागरिक अल्परोजगार र निराश अवस्थामा रहेको दाबी गरेका छन्।

सुरक्षात्मक व्यवस्था बिना स्वचालनलाई तीव्रता दिने, असहमतिको आवाज दबाउने र तथ्याङ्कलाई अस्पष्ट बनाउने नीतिले चीनको उदयमा महत्वपूर्ण भूमिका खेलेको पुस्ताप्रतिको सरकारको जिम्मेवारी कमजोर भएको लेखमा आरोप छ।

एल्गोरिदमसँग प्रतिस्पर्धा गर्दै प्रति अर्डर तीन युआनका लागि दौडिरहेको डेलिभरी राइडर चीनका टुटेका वाचाको प्रतीक बनेको लेखकको तर्क छ।

लेखका अनुसार बेइजिङले पारदर्शिता, सुधार र मानव पुँजीमा वास्तविक लगानीमार्फत यो संकटलाई सम्बोधन नगरे चीनको आर्थिक भविष्यसँगै सामाजिक स्थायित्वमा पनि असर पर्न सक्छ। युवाको समस्या केवल बेरोजगारीमा सीमित छैन; उनीहरूमा निराशा र व्यवस्थाप्रतिको मोहभंग पनि बढिरहेको लेखमा दाबी गरिएको छ। यस्तो निराशाले भविष्यमा थप सामाजिक असन्तोषको रूप लिन सक्ने सम्भावनाबारे पनि लेखकले चेतावनी दिएका छन्।

शिक्षित युवाको योग्यता र आकांक्षाअनुसार रोजगारी सिर्जना गर्न नसक्नु आर्थिक विषय मात्र नभई नैतिक प्रश्नसमेत भएको लेखको निष्कर्ष छ। आफ्ना युवाको आकांक्षा पूरा गर्न नसक्ने राष्ट्रले विश्व नेतृत्वको आफ्नो महत्वाकांक्षा दीर्घकालसम्म कायम राख्न कठिन हुने लेखकले तर्क गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *