चीनमा शिक्षित युवाको भविष्य अन्योलमा
चीनमा उच्च शिक्षा हासिल गरेका लाखौँ युवाको भविष्य अन्योलपूर्ण बन्दै गएको छ। वर्षौँसम्म कठिन प्रतिस्पर्धा र मिहिनेत गरेर विश्वविद्यालयको डिग्री हासिल गरेका युवाले समेत आफ्नो योग्यताअनुसारको रोजगारी पाउन नसकेपछि चीनको शिक्षा प्रणाली र आर्थिक विकासको मोडलबारे गम्भीर प्रश्न उठ्न थालेका छन्।
दशकौँदेखि चीनमा एउटा मान्यता स्थापित थियो– राम्रोसँग पढ्ने, प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुने र उच्च शैक्षिक योग्यता हासिल गर्ने हो भने समृद्ध जीवन सुनिश्चित हुन्छ। यही विश्वासका आधारमा चिनियाँ परिवारले आफ्ना बालबालिकाको शिक्षामा ठूलो आर्थिक तथा भावनात्मक लगानी गर्दै आएका थिए। तर अहिले यो मान्यता कमजोर बन्दै गएको छ।
चीनको श्रम बजारमा विश्वविद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीको संख्या निरन्तर बढिरहेको छ। तर सोही अनुपातमा रोजगारीका अवसर सिर्जना हुन सकेका छैनन्। सन् २०२५ मा कीर्तिमानी १ करोड २२ लाख २० हजार विश्वविद्यालयका स्नातक रोजगारी बजारमा प्रवेश गरेका थिए। सन् २०२६ मा यो संख्या बढेर करिब १ करोड २७ लाख पुग्ने अनुमान गरिएको छ।
यसैबीच, १६ देखि २४ वर्ष उमेर समूहका युवाको बेरोजगारी दर पनि उच्च छ। आधिकारिक तथ्यांकअनुसार सन् २०२६ को अगस्टमा यो दर १८.९ प्रतिशत पुगेको थियो।
चीनमा पुस्तौँदेखि शिक्षालाई सामाजिक तथा आर्थिक हैसियत उकास्ने सबैभन्दा भरपर्दो माध्यमका रूपमा लिइँदै आएको छ। विशेषगरी आर्थिक रूपमा पछाडि परेका भित्री प्रान्तका बालबालिकाले बिहान सबेरैदेखि रातिसम्म अध्ययन गर्नुपर्ने दबाब झेल्दै आएका छन्।
अत्यधिक प्रतिस्पर्धात्मक शिक्षा प्रणालीले ठूलो संख्यामा दक्ष र उच्च शिक्षित जनशक्ति उत्पादन गर्न सफल भए पनि अर्थतन्त्रले त्यही गतिमा रोजगारी सिर्जना गर्न सकेन।
अहिले चीनमा शैक्षिक योग्यताको मूल्य घट्दै गएको अवस्था देखिएको छ। कुनै समय स्नातक तहको डिग्रीले नै राम्रो रोजगारी सुनिश्चित गर्ने अवस्था थियो। तर अहिले स्नातकोत्तर र विद्यावारिधि गरेका व्यक्तिले समेत प्रतिस्पर्धात्मक रोजगारी पाउन कठिन भइरहेको छ।
धेरै रोजगारदाताले शैक्षिक योग्यताभन्दा व्यावहारिक अनुभव, इन्टर्नसिप र व्यावसायिक सम्बन्धलाई प्राथमिकता दिन थालेका छन्। यसले वर्षौँसम्म अध्ययनमा समय र पैसा खर्च गरेका युवालाई निराश बनाएको छ।
चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनाउने प्रक्रियामा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका महत्त्वपूर्ण रहे पनि अहिलेको युवा बेरोजगारी संकटले सरकारका केही संरचनात्मक नीतिगत कमजोरी उजागर गरेको छ।
पहिलो, सरकारले उच्च शिक्षाको विस्तारलाई तीव्रता दिए पनि विश्वविद्यालयका पाठ्यक्रमलाई श्रम बजारको मागअनुसार विकास गर्न सकेन। परिणामस्वरूप रोजगारी सिर्जना हुन नसकेका क्षेत्रमा ठूलो संख्यामा विद्यार्थी उत्पादन भए।
दोस्रो, चीनले लामो समयसम्म घरजग्गा कारोबारमा आधारित आर्थिक वृद्धिलाई प्राथमिकता दियो। करिब दुई दशकसम्म घरजग्गा क्षेत्र चीनको अर्थतन्त्रको प्रमुख इन्जिनमध्ये एक रह्यो। तर सरकारले घरजग्गा क्षेत्रमा बढ्दो ऋण र सट्टेबाजी नियन्त्रण गर्न थालेपछि यो क्षेत्र संकटमा पर्न थाल्यो।
एभरग्रान्डजस्ता ठूला घरजग्गा कम्पनीको पतन र आवास बजारमा आएको लामो मन्दीले निर्माण, इन्जिनियरिङ, वित्तीय सेवा तथा उपभोक्ता बजारमा रोजगारीका अवसर घटायो। घरजग्गामा लगानी निरन्तर खुम्चिँदा त्यसको प्रभाव अन्य उद्योगमा समेत परेको छ।
तेस्रो, प्रविधि कम्पनी, निजी ट्युसन संस्था, इन्टरनेट प्लेटफर्म तथा निजी क्षेत्रका विभिन्न व्यवसायमाथि सरकारले गरेको नियामकीय कडाइले व्यावसायिक वातावरणमा अनिश्चितता बढायो। त्यसको परिणामस्वरूप धेरै कम्पनीले कर्मचारी भर्ना घटाए वा पूर्ण रूपमा रोकिदिए।
विडम्बना के छ भने, सरकारी नियमनको निशानामा परेका यीमध्ये धेरै क्षेत्र विश्वविद्यालयबाट उत्तीर्ण युवाका लागि आकर्षक रोजगारीका गन्तव्य थिए।
चीनको वर्तमान बेरोजगारी समस्या केवल अस्थायी आर्थिक मन्दीको परिणाम होइन। देशले एकैपटक विभिन्न दीर्घकालीन चुनौती सामना गरिरहेको छ।
घरजग्गा बजारमा लामो समयदेखि जारी मन्दी, उपभोक्ताको कमजोर खर्च गर्ने क्षमता, वृद्ध हुँदै गएको जनसंख्या, स्थानीय सरकारको बढ्दो ऋण र उत्पादकत्व वृद्धिमा आएको सुस्तता त्यसका प्रमुख कारण हुन्।
त्यसैगरी, भूराजनीतिक तनावका कारण विदेशी लगानी प्रभावित हुनु र स्वचालन तथा कृत्रिम बौद्धिकता (एआई) को विस्तारले प्रारम्भिक तहका रोजगारी विस्थापित गर्नुले पनि युवाका लागि अवसर सीमित बनाएको छ।
चीनमा लगातार देखिएको मूल्यह्रासको दबाबले पनि अर्थतन्त्रको कमजोर आन्तरिक माग र औद्योगिक उत्पादन क्षमताको अधिकतालाई संकेत गरेको छ।
अर्कोतर्फ, आधिकारिक बेरोजगारी तथ्यांकले वास्तविक समस्याको पूर्ण चित्र नदेखाएको चिन्ता पनि व्यक्त हुन थालेको छ। स्थायी र गुणस्तरीय रोजगारी नपाएका धेरै युवा खाद्यान्न डेलिभरी, राइड सेयरिङ, अस्थायी करार तथा अन्य अनौपचारिक काममा संलग्न भइरहेका छन्। यसले बेरोजगारीको वास्तविक अवस्था तथ्यांकमा कम देखिएको हुन सक्ने विश्लेषण गरिएको छ।
चीनमा हरेक वर्ष लाखौँ विद्यार्थीले अत्यन्त प्रतिस्पर्धात्मक गाओकाओ प्रवेश परीक्षा उत्तीर्ण गरेर विश्वविद्यालयमा भर्ना हुने प्रयास गर्छन्। प्रतिष्ठित विश्वविद्यालयबाट उच्च शैक्षिक योग्यता हासिल गरेका युवाले समेत अहिले आफ्नो अध्ययनको क्षेत्रसँग मेल नखाने काम गर्नुपर्ने अवस्था आएको छ।
बेइजिङ, सांघाई, ग्वाङझाउ र सेन्जेनजस्ता ठूला सहरमा करिअर बनाउने सपना देखेका कतिपय युवा रोजगारी नपाएपछि आफ्नै गृहनगर फर्किन बाध्य भएका छन्।
धेरै युवाले सरकारी जागिरलाई सुरक्षित विकल्पका रूपमा हेर्न थालेका छन्। पछिल्ला वर्षमा सीमित संख्यामा उपलब्ध सरकारी पदका लागि लाखौँले आवेदन दिन थालेका छन्। यसले चीनमा सरकारी जागिरप्रतिको आकर्षण पुनः बढेको देखाउँछ।
चीनमा युवाको निराशा सामाजिक व्यवहारमा समेत देखिन थालेको छ। ‘लाइङ फ्ल्याट’ अर्थात् जीवनमा अत्यधिक प्रतिस्पर्धा र संघर्ष नगरी सामान्य जीवन बिताउने प्रवृत्ति तथा ‘फुलटाइम चिल्ड्रेन’ अर्थात् अभिभावककै घरमा बसेर उनीहरूमा निर्भर हुने युवाको संख्या बढ्नुले नयाँ सामाजिक बहस सिर्जना गरेको छ।
यी प्रवृत्तिले कडा मिहिनेत गरे पनि सफलता सुनिश्चित नहुने निष्कर्षमा पुगिरहेका युवाको मनोविज्ञानलाई प्रतिबिम्बित गर्छन्। चीनको वर्तमान संकटको सबैभन्दा गम्भीर पक्ष बेरोजगारी मात्रै होइन। युवाको अपेक्षा र वास्तविकताबीच बढ्दै गएको दूरी पनि हो।
वर्षौँसम्म चिनियाँ परिवारले आफ्ना छोराछोरीको शिक्षामा ठूलो लगानी गरे। उनीहरूले शैक्षिक सफलता र व्यक्तिगत मिहिनेतको उचित प्रतिफल प्राप्त हुने विश्वास गरेका थिए। तर अहिले धेरै स्नातकले आफूहरूसँग गरिएको वाचा पूरा नभएको महसुस गर्न थालेका छन्।
युवा रोजगारी सिर्जना गर्न चीन सरकारले विभिन्न कार्यक्रम, अनुदान, भर्ती अभियान र उद्यमशीलता प्रवर्द्धनका योजना ल्याएको छ। तर यी कार्यक्रमले समस्याको मूल कारणभन्दा त्यसका लक्षणलाई मात्रै सम्बोधन गरिरहेको विश्लेषण गरिएको छ।
चीनको मूल समस्या भनेको अर्थतन्त्रले गुणस्तरीय रोजगारी सिर्जना गर्ने क्षमताभन्दा तीव्र गतिमा विश्वविद्यालयका स्नातक उत्पादन गरिरहेको अवस्था हो। चीनका विश्वविद्यालयले दक्ष इन्जिनियर, वैज्ञानिक, अनुसन्धानकर्ता र विभिन्न क्षेत्रका व्यावसायिक जनशक्ति उत्पादन गरिरहेका छन्। समस्या प्रतिभाको अभाव होइन, उनीहरूको क्षमताअनुसारको अवसरको अभाव हो।
शैक्षिक उत्कृष्टताले समाजमा आफ्नो स्थान सुरक्षित गर्ने विश्वासका साथ वयस्क जीवनमा प्रवेश गरेका युवाले अहिले आर्थिक अनिश्चितता, सीमित अवसर र तीव्र प्रतिस्पर्धाको सामना गरिरहेका छन्। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका लागि शिक्षित युवाको यो निराशा दीर्घकालीन सामाजिक तथा आर्थिक चुनौती बन्न सक्ने देखिन्छ। आफ्नो शिक्षित युवा पुस्तामा विश्वास पुनः स्थापित गर्न चीनको नेतृत्व कति सफल हुन्छ भन्ने कुराले देशको श्रम बजार मात्रै होइन, समग्र अर्थतन्त्रको दीर्घकालीन स्थिरतासमेत निर्धारण गर्न सक्छ।
Facebook Comment