चीनको मौन संकट : एआईका कारण हराउँदै प्रोग्रामरको भविष्य

चीनको रोजगारी बजारमा ठूलो परिवर्तन भइरहेको छ। यसको सबैभन्दा गहिरो असर युवा सफ्टवेयर पेशाकर्मीमाथि परेको छ। कुनै समय चीनको डिजिटल अर्थतन्त्रको मेरुदण्ड मानिने प्रोग्रामरहरू अहिले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारसँगै ठूलो संख्यामा रोजगारी गुमाउने अवस्थामा पुगेका छन्। एक समय सम्मानित र उच्च पारिश्रमिकको पेसा मानिएको प्रोग्रामिङ अहिले रोजगारी कटौती, घट्दो अवसर र बढ्दो निराशाले भरिएको अस्थिर क्षेत्र बन्दै गएको छ।

उपलब्ध तथ्यांकले पनि चिन्ताजनक अवस्था देखाउँछन्। चीनमा ७० लाखदेखि ९४ लाखसम्म प्रोग्रामर रहेको अनुमान छ। तर एआईको तीव्र प्रयोगले उनीहरूले हासिल गरेका धेरै सीपको माग घटाउँदै लगेको छ। सन् २०२५ मा ठूला इन्टरनेट कम्पनीहरूले उत्पादन गर्ने कोडमध्ये करिब २० देखि ३० प्रतिशत एआईबाट तयार हुने गरेको बताइएको थियो। तर सन् २०२६ को मध्यसम्म आइपुग्दा केही कम्पनीमा यो अनुपात ९० प्रतिशतसम्म पुगेको दाबी गरिएको छ। यसले मानव प्रोग्रामरको भूमिकालाई क्रमशः सीमित गरिरहेको छ।

यस परिवर्तनसँगै कम्पनीहरूले ठूलो संख्यामा कर्मचारी कटौती भएको औपचारिक घोषणा भने नगर्ने गरेका छन्। बरु सम्झौता नवीकरण नगर्ने, नयाँ कर्मचारी भर्ना रोक्ने र विभाग पुनर्संरचना गर्ने जस्ता उपाय अपनाइएका छन्। परिणामस्वरूप हजारौँ कर्मचारी कुनै औपचारिक घोषणा वा सार्वजनिक जानकारीबिनै कम्पनीको तलब सूचीबाट बाहिरिन थालेका छन्।

अलिबाबा, टेन्सेन्ट, बाइटडान्स, मेइथुआन र जे.डी. डटकमजस्ता कम्पनीमा कर्मचारी कटौतीका खबर सामान्य बन्दै गएका छन्। सन् २०२६ को जुन महिनामा मात्र सपीलगायतका कम्पनीले उत्कृष्ट प्रदर्शन गर्ने इन्जिनियरलाई समेत हटाएको, फ्लिगीले एक दशकको अनुभव भएका वरिष्ठ डेभलपरलाई बिदा गरेको र मेइथुआनले एकैपटक आफ्नो ब्याकएन्ड कर्मचारीमध्ये ३० प्रतिशत कटौती गरेको दाबी गरिएको छ। कतिपय कम्पनीमा आधाभन्दा बढी कार्यस्थान खाली रहेको बताइएको छ।

विडम्बना के छ भने एआईका कारण कार्यक्षमता बढे पनि बाँकी रहेका कर्मचारीको कामको बोझ घटेको छैन। बरु व्यवस्थापनले पहिले १० दिन लाग्ने काम एकै दिनमा सक्नुपर्ने लक्ष्य दिन थालेको कर्मचारीहरूको गुनासो छ। यसले कर्मचारीलाई अत्यधिक दबाबमा काम गर्न बाध्य बनाएको छ।

चीनको प्रविधि क्षेत्रमा लामो समयदेखि रहेको ‘३५ वर्षको सीमा’सम्बन्धी धारणा अहिले झनै तल झरेको देखिन्छ। ३० वर्षको सुरुवाती उमेरमै रहेका प्रोग्रामरहरूले आफूलाई ‘धेरै बूढो’ र ‘परिवारको जिम्मेवारी धेरै भएको’ भन्दै रोजगारीका लागि अनुपयुक्त ठानिन थालेको बताएका छन्।

चार वर्षमा दुईपटक रोजगारी गुमाएका एक जाभा डेभलपरले अहिलेको प्रतिस्पर्धात्मक बजारमा ३० वर्षको उमेरसम्म पुग्नसमेत चुनौतीपूर्ण भएको बताएका छन्। ३० को मध्य उमेरमा पुगेकाहरूका लागि अवस्था झनै कठिन छ। घरको ऋण, गाडीको ऋण र बालबालिकाको शिक्षालगायतका खर्चको बोझसँगै एआईले आफ्नो रोजगारी खोस्ने डर उनीहरूमा बढेको छ।

यस्तो अवस्थामा बिरामी हुनु, केही समय कामबाट विश्राम लिनु वा छोटो समय बेरोजगार बस्नु पनि उनीहरूका लागि ठूलो जोखिम बन्न थालेको छ।

एआईको विस्तारसँगै रोजगारी संकट गहिरिँदै गए पनि चिनियाँ सरकारको प्रतिक्रिया भने पर्याप्त नदेखिएको आलोचना गरिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले एआईलाई राष्ट्रिय प्रगतिको प्रतीकका रूपमा प्रस्तुत गर्दै आएको छ। सरकारले अघि सारेको ‘एआई प्लस कार्ययोजना’ले सन् २०२७ सम्म प्रमुख उद्योगमा एआईको पहुँच ७० प्रतिशत र सन् २०३० सम्म ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।

तर एआईका कारण विस्थापित हुने श्रमिकलाई पुनः तालिम दिने, नयाँ रोजगारी सिर्जना गर्ने वा सामाजिक सुरक्षा प्रदान गर्ने समानान्तर नीति भने पर्याप्त देखिँदैन। आलोचकहरूका अनुसार सरकारले वास्तविक बेरोजगारीको अवस्थालाई स्पष्ट रूपमा सार्वजनिक नगर्दा समस्या अझै गम्भीर बन्दै गएको छ।

प्रविधिको विकासलाई प्राथमिकता दिँदै मानव रोजगारी र जीविकालाई पछाडि पारिएको भन्दै सरकारको आलोचना भइरहेको छ।

चीनका प्रविधि कम्पनीमा लामो समयदेखि प्रचलित ‘९९६’ कार्यसंस्कृति—बिहान ९ बजेदेखि राति ९ बजेसम्म, सातामा ६ दिन काम—ले कर्मचारीलाई वर्षौँसम्म दबाबमा राखेको थियो। अहिले त्यही कर्मचारी एआईका कारण आफूले गरेको त्याग र मेहनतको कुनै मूल्य नरहेको महसुस गर्न थालेका छन्।

कतिपय कर्मचारीले आफूलाई ‘आधा जीवित’ जस्तो महसुस भइरहेको बताएका छन्। रोजगारी गुमाएपछि उनीहरू गिग काम, कम पारिश्रमिकका आउटसोर्सिङ काम वा राइड–हेलिङ सेवातर्फ जान बाध्य भएका छन्।

कतिपय प्रोग्रामरले त प्रविधि क्षेत्र नै छाडेका छन्। पटक–पटक रोजगारी गुमाएपछि केही आफ्नै गृहनगर फर्किएर इलेक्ट्रीसियन, प्लम्बर वा सिकर्मीको काम सिक्न थालेका छन्। एआईको युगमा यस्ता व्यावहारिक सीप भएका कामदारको माग बढ्ने एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले गरेको भविष्यवाणीसँग पनि यो परिवर्तन जोडिएको छ।

तर यस्तो पेसा परिवर्तन सबैका लागि सहज छैन। पुनः तालिम दिने नाममा निजी संस्थाले प्रमाणपत्र बेच्ने तर त्यसले वास्तविक रोजगारी नदिने गरेको गुनासो पनि छ।

चीनको सुस्त बन्दै गएको अर्थतन्त्र, घरजग्गा क्षेत्रको गिरावट र विश्वव्यापी आपूर्ति शृंखलामा आएको परिवर्तनले रोजगारीका अवसर थप सीमित बनाएको छ। विश्वविद्यालयबाट स्नातक हुने करोडौँ युवाले घट्दो रोजगारीका अवसरका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

एक समय सामाजिक र आर्थिक उन्नतिको महत्वपूर्ण माध्यम बनेको इन्टरनेट उद्योग अहिले कर्मचारी कटौतीको प्रमुख केन्द्र बनेको छ। एआईको विस्तारले आर्थिक संकटलाई कम गर्नुको सट्टा रोजगारी कटौतीलाई झनै तीव्र बनाइरहेको र मध्यम वर्गमाथि दबाब बढाइरहेको आलोचना छ।

यस संकटको सबैभन्दा ठूलो विडम्बना के हो भने एआईमार्फत कोड लेख्ने प्रक्रिया स्वचालित बनाउने काममा संलग्न प्रोग्रामरहरूलाई नै आफ्नो पेसाको भविष्यबारे सबैभन्दा बढी चिन्ता छ। अलिबाबाका एक इन्जिनियरले आफ्नो ‘सुरक्षित समय’ बढीमा एकदेखि दुई वर्ष मात्र रहेको बताएका छन्। उनी संलग्न परियोजनाको उद्देश्य नै भविष्यमा मानव डेभलपरको आवश्यकता कम गर्नु रहेको उनको भनाइ छ।

यसले प्रविधि कम्पनीभित्र असुरक्षा र प्रतिस्पर्धा बढाएको छ। कर्मचारीका लागि आफ्नो सीपभन्दा पनि आफूभन्दा पहिले अर्को कर्मचारीले रोजगारी गुमाउँछ कि गुमाउँदैन भन्ने प्रश्न महत्वपूर्ण बन्न थालेको छ।

चीनको युवा बेरोजगारी संकट अब अस्थायी समस्या मात्र नभई एआईको विस्तार र सरकारी नीतिको कमजोरीसँग जोडिएको संरचनात्मक परिवर्तनका रूपमा देखिन थालेको छ। नयाँ उद्योग र रोजगारी सिर्जना गर्ने प्रभावकारी नीति नआए लाखौँ युवा अनिश्चितताको अवस्थामा फस्ने जोखिम छ।

सामाजिक सञ्जालमा निराशाका आवाजहरू बढिरहेका छन्। कुनै समय राम्रो आम्दानी गर्ने प्रोग्रामरहरू अहिले रोजगारीका लागि लामो अन्तर्वार्ता प्रक्रियामा सहभागी हुन वा पहिलेको आधा पारिश्रमिकमै काम गर्न बाध्य भएको गुनासो गरिरहेका छन्। यो प्रवृत्ति जारी रहे यसको असर अर्थतन्त्रमा मात्र सीमित नहुन सक्छ। सामाजिक विश्वासमा आएको गिरावट, आर्थिक उन्नतिको अवसरमा अवरोध र बढ्दो असमानताले भविष्यमा थप सामाजिक अस्थिरता निम्त्याउन सक्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *